Skip This

धान काटिसकेपछि खनजोत नगरि गहुँ छर्ने प्रविधि कस्तो हो ? यसका फाइदा के–के छन् ?

जिरो टिलेज प्रविधिबाट गहुँ खेती गर्दा लागत घट्ने र उत्पादन बढ्ने

जिरो टिलेज प्रविधिबाट गहुँ खेती:-
खेतको धान काटेर उठाई सकेपछि खनजोत नगरि जिरो टिल सिड ड्रिल मेसिनको सहायताले गहुँ छर्ने प्रविधि लाई शुन्य जोताई प्रविधि (Zero Tillage Technology) भनिन्छ।
जिरो टिल सिड ड्रिल मेसिनबाट गहुँ छर्दा खेतमा प्रशस्त चिस्यान हुनुपर्दछ, यदि चिस्यान छैन वा कम छ भने हल्का सिँचाई गरि खेतमा उपयुक्त चिस्यान ल्याउन सकिन्छ। ट्रेक्टर चलाउदा नचिप्लिने भए वा ट्रेक्टरको चक्का नधसिने भएमा बढी चिस्यान भएको खेतमा पनि गहुँ लगाउन सकिन्छ। जमीन सम्म परेको हुनुपर्दछ। खेतमा बढी झारपात भएमा बीउ छर्नुभन्दा कम्तिमा ३ हप्ता अगावै ग्लाईफोसेट 41% SL विषादी ५ एम.एल. प्रति लिटर पानीका दरले २० लिटर घोल प्रति कट्ठाको दरले छर्नुहोस्।  

सामान्यतया कार्तिक १५ गते देखि मंसिर १५ गतेसम्म गहुँ छर्दा राम्रो उत्पादन लिन सकिन्छ। सामान्यतया तराई क्षेत्रका लागि सिफारिस गरिएका गहुँका कुनै पनि जात लगाउन सकिन्छ, तर गौतम, भृकुटी, एन. एल. 971, आदित्य, तिलोत्तमा, विजय जातले राम्रो उत्पादन दिएको पाईन्छ। राम्रो उमारशक्ति भएको बीउ ४ के.जी. प्रति कट्ठाका दरले छरे पुग्छ। माटोमा चिस्यान बढी भएमा करिब १ इन्च गहिराईमा छर्नुपर्दछ। कम चिस्यान भएमा २-३ इन्च सम्म गहिराईमा छर्न सकिन्छ। सामान्यतया ३.६ के.जी. डी.ए.पी., २.२ के.जी. युरिया र २.८ के.जी. म्युरेट अफ पोटास प्रति कठ्ठाका दरले माटोमा मिलाउनुहोस्।

शुन्य जोताई प्रविधि (Zero Tillage Technology) बाट हुने फाईदा:
•    प्राकृतिक श्रोत संसाधन तथा स्रोतहरुको संरक्षण हुन्छ।
•    बढी चिसो भएका कारणले हिउँदमा बाँझो रहने खेतमा गहुँ लगाउन सकिन्छ।
•    परम्परागत तरिका भन्दा १५-२५% बढी उत्पादन हुन्छ।
•    बीउ र मल लहरैमा खसाल्न सकिने र सिँचाईको लागि कम पानी लाग्छ।
•    चिसो जग्गामा जोतेर गहुँ लगाउदा ढिलो हुने र खर्च बढी लाग्ने हुन्छ तर जिरो टिलेज प्रविधि बाट यस्ता जग्गामा गहुँ लगाउँदा समय मै र कम खर्चमा गहुँ लगाउन सकिन्छ।
•    ३-४ लिटर डिजल मा प्रति घण्टा १०-१२ कट्ठामा गहुँ छर्न सकिन्छ।
•    धानको ठुटोले असर नपार्ने तथा बीउ र मल एकनासको गहिराईमा खसाल्न सकिने भएकोले जर्मिनेसंन राम्रो हुन्छ।
•    यो प्रविधि बाट गहुँ लगाउदा मलजलको समुचित उपयोग भई उत्पादन क्षमता बढ्न जान्छ।
•    खनजोत गर्ने पैसाको बचत हुने हुनाले खुद नाफा बढी हुन्छ।
•    माटोको गुण नबिग्रिने र लगाएको बालीमा झारपातको समस्या कम हुन्छ। 

विषादीको प्रयोग गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरु
•    सकेसम्म हरियो (  ) र नीलो (  ) लेबल भएको विषादी प्रयोग गर्नुहोस्।
•    विषादीको डब्बामा उत्पादन र एक्सपाइरी मिति हेर्नुहोस्। 
•    सुरक्षित ठाउँमा विषादी राख्नुहोस्। 
•    सिफारिस गरिए अनुसारको मात्रा प्रयोग गर्नुहोस्। 
•    विषादी छर्कने वेलामा मुखमा मास्क, हातमा पञ्जा, खुट्टामा जुत्ता र शरीरको नाङ्गो भागमा कपडाले छोप्नुहोस्। 
•    सकभर कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला विषादी नछर्नुहोस्। 
•    कुनै पनि विषादी छर्दा जुन दिशाबाट हावा आएको छ त्यही दिशातिर फर्केर कहिल्यै छर्नुहुँदैन अर्थात् जुन दिशाबाट हावा 
वहेको छ सोही दिशातर्फ फर्केर विषादी छर्ने गर्नुहोस्। 
•    कुनै पनि विषादी छर्दा विषादी छर्दै अघि बढ्नु हुँदैन अर्थात पछि सर्दै¬ आउनु पर्दछ जसले गर्दा विषादी छरि सकेको ठाँउमा चलाउन नपरोस्।
•    कुनै पनि विषादी छरिरहँदा बिचैमा नोजल बन्द भयो भने मुखले फुकेर वा दाँतले खोल्ने गर्नुहुदैन।
•    कुनै पनि विषादीको प्रयोग गरे पछि सकेसम्म पुरै शरिर नुहाउनु पर्दछ र हात खुट्टा नधोई कुनै खानेकुरा खान हुँदैन। 
•    विषादी प्रयोग गरिसकेपछि खाली बट्टा वा सिसी बटुलेर खाल्डोमा पुर्नुपर्दछ र प्रयोग गरेका उपकरणहरु धोएर राख्नुहोस्। 
•    विषादी छर्कदा टाउको दुख्ने वा वाक वाक लाग्ने जस्तो हुन थाल्यो भने तुरुन्त काम छोडेर खुल्ला हावामा केहीबेर बस्नुहोस्। यदि विष लागेको शंका लागेमा नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा जचाउनुहोस्। 
•    विषादीको किसिम हेरेर विषादी छरेको खेत जग्गा बाट ३ देखि १५ दिनसम्म कुनै पनि खानयोग्य बालीहरु उपभोग गर्न हुँदैन साथै गाईवस्तु, कुखुरा आदि लाई पनि खुवाउन हुदैन।
•    विषादी प्रयोग गर्ने उपकरणहरु (स्प्रेयर) लाई प्रयोग गरिसकेपछि राम्रोसँग पखाली भण्डारमा राख्नुहोस्। 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑