काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धक सञ्जिव झासहित आठ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका कर्मचारी, चिस्यान केन्द्रका प्रमुख तथा अन्य कर्मचारीको मिलेमतोमा गैरकानुनी आर्थिक लाभ लिने गतिविधि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
सीआईबीका सहप्रवक्ता तथा सूचना अधिकारी योगेन्द्रकुमार खड्काले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पूर्वयोजना बनाएर विभिन्न समूह गठन गरी संगठित सञ्जालमार्फत संस्थानलाई आर्थिक हानि पुर्याइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। उक्त गतिविधिबाट १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको गैरकानुनी लाभ लिएको आरोप छ।
पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जिव झा प्रमुख छन्। उनीसँगै तत्कालीन चिस्यान केन्द्रका इन्चार्ज तथा हाल विभिन्न पदमा कार्यरत विजयकुमार यादव, मनहरी शर्मा र रामकेवल राय पक्राउ परेका छन्।
त्यसैगरी डीडीसीका कर्मचारीहरू जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
सीआईबीका अनुसार झालाई काठमाडौँको लैनचौरबाट पक्राउ गरिएको हो। अन्य आरोपीहरूलाई काठमाडौँ, कास्की, सर्लाही र चितवनका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।
पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर उनीहरूलाई २०८३ कात्तिक १३ गते पक्राउ गरिएको हो।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा भएको भनिएको यो प्रकरणले संस्थानको आर्थिक व्यवस्थापन, कर्मचारीको जिम्मेवारी र आन्तरिक नियन्त्रण प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।





2026-10-27-02-10-03.jpeg)








प्रतिक्रिया थप्नुहोस्