गोरखा, १२ कात्तिक । बाढीले पुल तथा सडक बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादित स्याउ गोदाममै थन्किएको छ । ढुवानीको वैकल्पिक व्यवस्था नहुँदा किसान तथा व्यवसायीले उत्पादन भएको स्याउ बजारसम्म पुर्याउन नसकेका हुन् ।
बुढीगण्डकी नदीमा आएको बाढीले उत्तरी गोरखाको यातायात सम्पर्क अवरुद्ध बनाएपछि स्याउ ढुवानीमा समस्या भएको हो । गत असोज २५ गते चुमनुब्री गाउँपालिका–६ मा हिमपहिरोका कारण उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले नदी किनारका दर्जनौँ पुल तथा सडकमा क्षति पुर्याएको थियो । बाढीका कारण उत्तरी गोरखाको प्रमुख यातायात मार्ग बेनीघाट–आरुघाट–लार्के सडकखण्डसमेत अवरुद्ध भएको छ ।
चुमनुब्री गाउँपालिकाको सिर्दिबासदेखि आरुघाटको आर्खेतसम्म सडक अवरुद्ध भएपछि स्थानीयको आवतजावतसँगै कृषि उपज ढुवानी पनि प्रभावित भएको छ । गाउँपालिका र गोरखा सडक आयोजनाले अस्थायी रूपमा पैदल आवागमनका लागि बाटो खुलाउने प्रयास गरे पनि स्याउ ढुवानी गर्न सक्ने अवस्था नरहेको व्यवसायी लाक्पा डुन्डुप लामाले बताए । “गाउँपालिकाले जसोतसो मान्छे हिँड्ने बाटो त बनाएको छ, तर खच्चड हिँडाउन सकिँदैन। खच्चडमा स्याउ ढुवानी गर्ने त सम्भावना नै छैन,” उनले भने ।
लामाले चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा समुद्री सतहबाट दुई हजार ६५० मिटर उचाइमा स्याउखेती गर्दै आएकाछन् । उनको ‘इन गोरखा प्रोडक्ट प्रालि’ मा यस वर्ष गाला, गोल्डेन, रेड डिलिसियस, किङ डेलिसियस र फुजी जातका १२ हजार ५०० बोटबाट करिब एक लाख किलो स्याउ उत्पादन भएको छ ।
उत्पादन राम्रो भए पनि बजारसम्म पुर्याउन नसक्दा स्याउ बिग्रन थालेको लामाले बताए । फुजी जातको केही स्याउ टिप्न बाँकी रहे पनि अन्य जातका स्याउ टिपिसकिएको छ । गाला र गोल्डेन डिलिसियस जातका स्याउ टिपेको एक महिना भइसकेको उनको भनाइ छ ।
“फुजी थोरै टिप्न बाँकी छ, त्योबाहेक सबै स्याउ टिपिसक्यौँ । गाला र गोल्डेन डिलिसियस टिपेको एक महिना भयो। अहिले बिग्रन थालिसके,” उनले भने ।
स्याउलाई सुकाएर सुकुटी बनाउने विकल्पसमेत प्रभावित भएको छ । भदौ २१ गते थेराङ खोलामा आएको बाढीले लघुजलविद्युत् आयोजना बगाएपछि विद्युत् आपूर्ति बन्द भएको र ड्रायर सञ्चालन गर्न नसकिएको लामाले बताए । यसले गर्दा उत्पादन भएको स्याउ संरक्षण गर्न थप कठिनाइ भएको छ । ढुवानीको समस्या कायम रहे लाखौँ किलो स्याउ खेर जाने जोखिम रहेको उनको गुनासो छ ।
मनास्लु क्षेत्रमा स्याउ ढुवानीको समस्या यस वर्ष मात्र देखिएको होइन । सडक सञ्जालको अभाव र कठिन भौगोलिक अवस्थाका कारण यहाँ उत्पादित स्याउ बजारसम्म पुर्याउन हरेक वर्ष समस्या हुने गरेको छ । नाम्रुङ र आसपासका क्षेत्रबाट खच्चडमार्फत स्याउ बजारसम्म पुर्याउन करिब एक साता लाग्ने गर्छ । लामो ढुवानी अवधि, साँघुरो बाटो र घामका कारण स्याउमा क्षति पुग्दा २० देखि २५ प्रतिशतसम्म उत्पादन खेर जाने गरेको किसान बताउँछन् ।
हेलिकप्टरमार्फत स्याउ ढुवानी गर्दा लागत बढ्ने र त्यसअनुसार बजार मूल्य नपाउँदा बिक्री गर्न कठिन हुने समस्या पनि किसानले भोग्दै आएका छन् । यसअघि ठूलो परिमाणमा स्याउ क्षति भए पनि खच्चडमार्फत ढुवानी गर्दै आएका किसान अहिले बाढीले बाटो र पुल बगाएपछि थप समस्यामा परेका छन् । “आधा स्याउ खेर गए पनि खच्चडमार्फत ढुवानी गर्थे । बाढीले पुल र बाटो सबै बिगारेपछि अहिले त्यो विकल्प पनि रहे न। हामी साह्रै मर्कामा छौँ,” लामाले भने ।
सडक सञ्जालको पहुँच नपुगेको मनास्लु क्षेत्रमा स्याउलगायत अन्य कृषि उपज बजारसम्म पुर्याउनु किसानका लागि चुनौतीपूर्ण छ । ढुवानी लगभग असम्भव बनेपछि किसानले घाममा सुकाएर स्याउको सुकुटी बनाउने तथा मदिराजन्य पदार्थ उत्पादन गर्ने प्रयास गरिरहेका छन् । तर, ठूलो परिमाणमा उत्पादन गर्ने किसानका लागि यी विकल्प पर्याप्त छैनन् । केही स्याउ प्रशोधन गरेर जोगाउने प्रयास भए पनि बाँकी उत्पादन कुहिएर खेर जाने जोखिम बढेको छ ।
समयमै ढुवानीको व्यवस्था र कृषि उपज संरक्षणका वैकल्पिक उपाय उपलब्ध हुन नसके मनास्लु क्षेत्रका किसानले यस वर्षको स्याउ उत्पादनबाट अपेक्षित आम्दानी लिन नसक्ने अवस्था देखिएको छ ।















प्रतिक्रिया थप्नुहोस्